Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुष ८ गते ।

अत्यधिक चिसो र शीतलहरका कारण मधेश प्रदेशका विद्यालयहरुमा धमाधम विदा दिन थालिएको छ । केही दिनयता अत्यधिक चिसो बढेपछि बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयहरुमा विदा दिन थालिएको हो ।
महोत्तरीको भंगहा र रामगोपालपुर नगरपालिकामा सञ्चालित सबै सामुदायिक तथा धार्मिक तथा संस्थागत विद्यालय अगामी आइतबारबाट मात्रै खुल्नेछ । भंगहा नगरपालिकाले बढ्दो चिसोले जनजीवन प्रभावित बनेपछि मंगलबारदेखि ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाले जारी गरेको सूचना अनुसार पुस ८ गतेदेखि १३ गतेसम्म नगरपालिकाभित्र सञ्चालित सामुदायिक,धार्मिक र संस्थागत विद्यालयहरूमा बिदा दिइएको हो । उक्त बिदा वर्षे बिदाबाट कटौती हुने गरी दिइएको जनाइएको छ ।
महोत्तरीकै रामगोपालपुर नगरपालिकाले पनि चिसोका कारण शिक्षण–सिकाइ प्रक्रियामा प्रतिकूल असर परेको भन्दै ४ दिनका लागि विद्यालय बिदा दिएको छ ।

नगरपालिकाको कार्यालयले सोमबारको निर्णयअनुसार मंगलबारदेखि शुक्रबारसम्म सबै सामुदायिक तथा धार्मिक विद्यालय बन्द रहनेछन् ।
रामगोपालपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आछेलाल दासले चिसो र शीतलहरले विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्यमा जोखिम बढेकाले सावधानीस्वरूप बिदा दिइएको जानकारी दिए ।
रौतहटको गौर नगरपालिकाले पनि गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ । शीतलहरकै कारण वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

केही दिन यता बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेसँगै गरिब एवं विपन्न बस्तीसंगै बालबालिकाको जनजीवन कष्टकर बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *