सामाजिक फीड-
जनकपुरधाम, पुष ७ गते ।
पुस महिना सुरु भए लगतै बढ्दै गएको जाडोले मधेस प्रदेशको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अहिले केही दिन यता बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेसँगै गरिब एवं विपन्न बस्तीका बासिन्दाको बिचल्ली भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका जिल्लाको तापक्रम निरन्तर ओरालो लागिरहेको छ।
महाशाखाले पुस ७ गते सार्वजनिक गरेको विवरण अनुसार आज जनकपुरको न्यूनतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियस रहँदा अधिकतम १८ देखि २० पुग्ने अनुमान छ।
मध्याह्नपछि हुस्सु फाट्दै गए पनि कतिपय ठाउँमा चम्किलो घाम लाग्न नसक्दा र दिनभरि नै चिसो बतास चलिरहँदा जाडोले धेरैजसो मजदुर वर्गले काममा जान पाएका छैनन् ।
अहिले मुसहर, डोम, हलखोर, मेस्तरसहितका अति पिछडिएका गरिब समुदायका बस्तीमा सडकमा फालिएका झुत्रा लुगा, प्लाष्टिक र झित्राझिक्री बालिने ‘घुर’ मात्र सहारा बनेको छ ।
यसका साथै बिहानीपख लाग्ने हुस्सुले सडक यातायात र हवाई यातायात सेवा प्रभावित हुन थालेका छन् । बाक्लो हुस्सुकै कारण मध्याह्नअघिका हवाई सेवा बन्द रहने गरेको छ । मध्याह्नसम्म हुस्सु राम्ररी फाट्न नसक्दा विमान अवतरणमा समस्या हुने भएर बिहानी सेवा रोकिने गरेको जनकपुर विमानस्थल कार्यालयले जनाएको छ ।
यस्तै, एकाबिहानैको समयका सार्वजनिक सडक यातायातका साधनलाई पनि हुस्सु छिचोल्न नसक्दा ठाउँ–ठाउँमा रोकिनुपरेको चालकहरु बताउँछन् ।
चिसो निकै बढेपछि खेतीपाती र बन्दव्यापारका काम ठप्प झैँ भएका छन् । मध्याह्नपछि झल्याक झुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि बाहिरफेरो निस्कन गारो बन्दै गएको छ ।
चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स–साना नानीहरुको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्तीहरु बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् ।
यसैबीच अत्यधिक चिसो र शीतलहरका कारण वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।