Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।

मधेशमा रिक्त सभामुखको निर्वाचनको लागि मधेश प्रदेशसभा सचिवालयले निर्वाचन तालिका सार्वजनिक गरेको छ । पुस ६ गते हुने सभामुख निर्वाचनका लागि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रस्तावक र समर्थकसहित सूचना दर्ता गराउन सकिने तालिकामा उल्लेख छ ।

प्रदेशसभा सचिवालयका सचिव बासु प्रसाद कोइरालाले सार्वजनिक गरेको तालिकामा उम्मेदवारीको सूची शनिबार नै दिउँसो साढे ३ बजे दर्ता क्रमअनुसार सूची प्रकाशन गरिनेछ ।

सार्वजनिक सूचीका आधारमा आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रस्तावकले उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । समर्थकले समर्थन गरेपछि उम्मेदवारमाथि सामूहिक छलफलपछि दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गरिने कार्यतालिका रहेको उल्लेख छ ।

प्रस्तावित उम्मेदवारले आफ्नो एक प्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने तालिकामा उल्लेख छ ।

पद अनुकुल आचरण नगरेको अभियोग लगाएर गत मंसिर ३ गते सभामुख रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले दुई तिहाई बहुमतले पदमुक्त गरेपछि सो पद रिक्त छ । सातलीय गठबन्धनमा जसपाबाट सभामुख बनाउने सहमति भएको छ । सभामुखका लागि जसपाबाट प्रदेश सांसद रामअशिष यादव र मनिष सुमनको नाम चर्चामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *