सामाजिक फीड-
जनकपुरधाम, पुष ४ गते ।
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो सदनबाट विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनलाई सदनमा रहेका १० वटै दलले विश्वासको मत दिएका छन् । सदनमा उपस्थित सबै ९२ सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।
पनेकपा एमाले सहितका प्रतिपक्षी र सत्तापक्षीय सम्पूर्ण दलहरुले यादवलाई विश्वासका मत दिएका छन् । उपसभामुखको आसनमा बसेर सभा सञ्चालन गरेकी उपसभामुख बबिता राउत इशरले यादवले विश्वासको मत पाएको घोषणा गरिन् ।
प्रतिपक्षी एमालेका अलावा सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टी समेतले विश्वासको मत दिएका छन् ।
यसका अलावा उनलाई सातदलीय गठबन्धनका नेपाली कांग्रेस, जसपा नेपाल, जनमत नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् ।
गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले गत मङ्सिर २१ गते पद तथा गोपनियताका शपथ लिएका थिए । त्यस दिन नेपाली कांग्रेस, जनमत र नेकपा एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गरेका थिए । गत मङ्सिर २९ गते उनले पुनर्गठन गर्दै नेकपा माओवादी केन्द्र र लोसपालाई समेत सरकारमा सहभागी गराएका थिए । अहिले उनको मन्त्रीमण्डल उनी लगायत ६ सदस्य छन् । ६ वटा मन्त्रालय पूर्णता पाउन बाँकी छ । विश्वासको मतपश्चात मुख्यमन्त्री यादवले सादलीय गठबन्धनमा भागबण्डा मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने छन् ।
१०७ सदस्य मधेस प्रदेशसभामा सरकारको विश्वासको मतको लागि ५४ मत आवश्यक पर्छ। प्रदेश सभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक–एक सिट रहेको छ।