सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।
दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका तीन सहित धनुषाका चारवटा औषधि पसल शिल गरिएको छ ।
औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले अनुगमनको क्रममा चारवटा औषधी पसललाई शिलबन्दी गरिएको शाखा प्रमुख तथा औषधि व्यवस्थापक शम्भु साहले जानकारी दिए । उनका अनुसार रामानन्द चोकमा रहेको जनकपुर सुरक्षा हस्पिटल फार्मेसी, प्रशान्त मेडिकल हल बजरंग चोक, राघव सर्जिकल पसल माछा बजार र वीरेन्द्रबजारमा रहेको कम्युनिटी सर्भिस अस्पताललाई शिलबन्दी गरिएको हो ।
कूल दुई दर्जन औषधि पसलको अनुगमन गरिएकामा तीमध्ये आधा दर्जन अस्पताल, फार्मेसी र डेढ दर्जन सामुदायिक फार्मेसी रहेका थिए । अनुगमनका क्रममा ११ पसलमा व्यवसायी फर्मासिस्ट अनुपस्थित रहेको, तीन पसलमा दर्ता नभएका औषधि सञ्चय गरिएको, सात पसलले लागू तथा मनोद्वीपक औषधिको बिक्री वितरण गरेको तथ्यांक नराखेको पाइएको थियो ।
यसैगरि चारवटा पसलले उचित तापक्रममा औषधि भण्डारण नगरेको, चार पसलले औषधिजन्य आहारपूरक खाद्य पदार्थ सञ्चय गरेको पाइएको उनले बताए । साहका अनुसार कार्यालयको टोली अनुगमनमा जाँदा कतिपय औषधि पसल अनुगमनको भयले बन्द गरेको पाइएको थियो ।