Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार शुक्रबार अपरान्ह ४ बजे बोलाइएको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

मंसिर १९ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६ दलका ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपाली कांग्रेसका संसदीय दलका नेता हुन् ।
गत सोमबार मुख्यमन्त्री निवासमा बसेको सात दलको बैठकले शुक्रबार विश्वासको मत लिने सहमति गरेपछि मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मतको वातावरण मिलाइदिन औपचारिक पत्र पठाएका थिए ।


विश्वासको मत प्राप्त गर्न प्रदेश सभामा बहुमत आवश्यक पर्ने भए पनि मुख्यमन्त्री यादवसँग दुई तिहाइभन्दा बढी समर्थन रहेको छ । यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि उनले अब बन्ने कुनै पनि सरकारलाई समर्थन गर्ने बताएका कारण मुख्यमन्त्री यादवले सिंगो सदनबाट विश्वासको मत पाउने सम्भावना देखिएको छ ।


हाल नेकपा एमाले, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका दल सत्तापक्षमा रहेका छन् ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा नेकपा एमालेका २५ जना (एक निलम्बित), नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९ (एक निलम्बित), जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९ ९एक निलम्बित०, नेकपा एकीकृत समाजवादी पार्टीका ७ तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेश सभा सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *