सामाजिक फीड-
जनकपुरधाम, मंसिर २६ गते ।
सिरहामा प्रहरीले प्रतिबन्धित मुङ्ग्री जातका माछा नष्ट गरेको छ । भारतबाट अवैध रूपमा ल्याइएका करिब १०० केजी माछा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएका छन् ।
विशेष सूचनाका आधारमा प्रहरीले गोलबजार–धनगढी सीमाक्षेत्रको गागन खोलाबाट उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो।
प्रतिबन्धित माछासहित एक मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा प्रहरी निरीक्षक सुदन केसीले बताए । बरामद गरिएको माछा गोलबजार ८ चोहर्वाका राजा सहनीको भएको प्रहरी निरीक्षक केसीले बताए।
दैनिक रूपमा सहनीले करिब आधा दर्जन मोटरसाइकल प्रयोग गरी भारतबाट प्रतिबन्धित मुङ्ग्री तथा जलकपुर जातका माछा ल्याई लहान, धनगढी, मिर्चैया, गोलबजार, विष्णुपुर र सिरहा सदरमुकामका व्यापारीलाई आपूर्ति गर्दै आएको स्थानीयको आरोप छ । सहनीले सीमा क्षेत्रका विभिन्न बाटो प्रयोग गरी माछा भित्र्याउने गरेको आरोप छ।
नेपाल सरकारले मुङ्ग्री माछा मानव स्वास्थ्यका लागि जोखिमयुक्त हुने भएकाले प्रतिबन्ध लगाएको छ। अस्वस्थकर वातावरणमा हुर्काइने, रसायनको प्रयोग हुने सम्भावना बढी रहने र यसले स्थानीय वातावरण तथा जलचर प्रणालीमा समेत नकारात्मक असर पार्ने भएकाले प्रतिबन्ध लगाइएको हो।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।