Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २३ गते ।

देशभरका भन्सार कार्यालयहरूमा भन्सार एजेन्ट महासंघ नेपालले आज ‘पेन डाउन’सहित विरोध जनाएको छ । भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै महासंघले देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेको हो ।

महासंघ अध्यक्ष प्राचिनकुमार थैवले भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्‍याउने वातावरण सृजना भएकाले आन्दोलनमा उत्रिनुपरेको बताए ।

ऐनको विरोध गर्दै महासंघले आइतवार वीरगञ्ज भन्सार कार्यालय र सोमबार भैरहवा भन्सार कार्यालय ठप्प गरेको थियो ।
केन्द्रीय सदस्य उमेश घिमिरेले नयाँ भन्सार ऐन जारी भएसँगै देखिएका समस्या एवं भन्सार एजेन्टहरूको पेशासँग सम्बन्धित मागहरू सम्बोधन नगरिए आजै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बताए ।

हालै लागू भएको भन्सार ऐनमा भन्सार एजेन्टको नाम, दण्ड जरिवाना, भन्सार एजेन्टको इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीसँग सम्बन्धित ‘युजर आईडी’ व्यवस्थापन, ‘एक्जिट नोट’ एवं ‘इन्ट्री नोट’ लगायत इजाजत प्राप्त भन्सार एजेन्टहरूवाट मात्र मालबस्तु जाँचपास गर्ने व्यवस्था ऐनमै हुनुपर्ने महासंघले माग राखेको थियो ।

तर, मागको वेवास्ता गर्दै लागू भएको भन्सार ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको, वैध व्यापारलाई निरुत्साहित गर्दै तजबिजी अधिकारलाई बढावा दिएको महासंघको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *