सामाजिक फीड
जनकपुरधाम, मंसिर २९ गते ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले सरकारको प्रशासनिक संरचनामा व्यापक चलखेल गरेको खुलेको छ।
सर्वोच्चको परमादेश आइसकेपछि मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषद्ले महत्त्वपूर्ण नियुक्ति तथा सरुवा गरेको सरकारी कागजातबाट देखिएको हो।
यस क्रममा ११औं तहका सहसचिव सहित पाँचौँ तहका ३८ कर्मचारीको सरुवा गरिएको छ।
निमित्त प्रमुख सचिवमा जयकुमार घिमिरे
१५ मंसिरमै बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका प्रदेश सचिव जयकुमार घिमिरेलाई निमित्त प्रमुख सचिवका रूपमा तोकेको थियो।
प्रमुख सचिव मदन भुजेल ११ मंसिरमै रमाना भइसकेपछि रिक्त रहेको पदलाई घिमिरेले आफ्नो पूर्व जिम्मेवारीका अतिरिक्त सम्हाल्ने निर्णय गरिएको हो।
यस सम्बन्धी मन्त्रिपरिषद् निर्णयको प्रमाणीकरण प्रशासन सेवाका ९औं तहका उपसचिव रोहित कोइरालाले गरेका छन्।
उपसचिवद्वारा क्याबिनेट निर्णय प्रमाणीकरण गरिएको घटना मधेश प्रदेशमा पहिलो भएको कर्मचारीहरूले दाबी गरे।
तर निमित्त प्रमुख सचिव घिमिरेले निमित्त प्रमुख सचिवका रूपमा तहभन्दा माथि–तलका कर्मचारीले पनि प्रमाणीकरण गर्न पाउने व्यवस्था भएकाले प्रक्रिया उचित नै भएको प्रतिक्रिया दिएका छन्।
कार्यालयमा सचिवहरू कोही नहुदा आफू नै सिनियर कर्मचारी भएकाले निमित्तको आधारमा प्रमाणीकरण गर्ने जिम्मेवारी मैले पाएको उनले बताए ।
सोही क्याबिनेट बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। ओम अर्याललाई सरुवा गरी मुख्यमन्त्री कार्यालयमा पठाउने निर्णय गरेको छ।
उनको स्थानमा मन्त्रालयमा अतिरिक्त रूपमा कार्यरत ११औं तहका सहसचिव डा। प्रमोद कुमार यादवलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय गरिएको छ।