सामाजिक फीड-
जनकपुरधाम, मंसिर १८ गते ।
सामाजिक सञ्जालका विभिन्न प्लाटफर्ममार्फत यौन दुर्व्यवहारजन्य क्रियाकलाप बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ। साइबर ब्यूरो भोटाहिटीका अनुसार डिजिटल हिंसासम्बन्धी दर्ता हुने ८ उजुरीमध्ये १ वटा अनलाइन यौन दुर्व्यवहारसँग सम्बन्धित हुन्छ।
प्रहरी नायब निरीक्षक राधिका ठकुरीका अनुसार डिजिटल हिंसामा पुरुषभन्दा महिलाहरू बढी प्रभावित छन्, विशेष गरी किशोरी र बालिकाहरू। सामाजिक सञ्जालमार्फत किशोरीसँग सम्पर्क स्थापना गरी नग्न फोटो माग्ने, दुरुपयोग गर्ने र मानसिक यातना दिने जस्ता घटना तीव्र रूपमा बढिरहेका छन्, जसले कतिपयलाई गम्भीर तनाव र डिप्रेसनसम्म पुर्याइरहेको छ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत तरंगिनी महिला अधिकार प्रशिक्षण केन्द्रले काठमाडौंमा गरेको अन्तरक्रियात्मक कार्यक्रममा ठकुरीले साइबर अपराधसम्बन्धी तथ्यांक र प्रवृत्ति प्रस्तुत गरेकी थिइन्।
उनका अनुसार कक्षा ९र१० मा पढ्ने विद्यार्थीहरूलाई लक्षित गरी अनलाइनमै जोडिने, प्रलोभन देखाएर फसाउने, र अन्त्यमा अनलाइनमै नियन्त्रणमा लिने जस्ता गतिविधि बढ्दो छ। अनलाइनमै परिचय भएर प्रेम सम्बन्ध बनाइदिई विदेश पुर्याउने र यौन व्यवसायमा धकेल्ने प्रकारका घटनासमेत देखिन थालेका छन्।
डिजिटल ठगी पनि उस्तै रूपमा फैलिएको ठकुरी बताउँछिन्। विदेशबाट सामान पठाइदिएको, विमानस्थलमा कर तिर्नुपर्छ भनेर पैसा माग्ने, वा पुरस्कार परेको भन्दै झुक्याएर रकम ठगी गर्ने घटनाहरू नियमित रूपमा दर्ता हुने गरेको ब्यूरोको भनाइ छ।