मधेश प्रदेशका जिल्लाहरूमा ट्राफिक प्रहरीले पराल तथा भुस बोकेका गाडीहरूमाथि अनावश्यक दुःख दिन सुरु गरेको आरोप लगाउँदै सवारी चालकहरु बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यस्थापनको मूल गेट अगाडि धर्नामा बसेका छन् ।
मंगलबारबाट ट्राफिक प्रहरीले पराल तथा भुस बोकेका गाडीहरूमाथि अनावश्यक दुःख दिन सुरु गरेको आरोप लगाउँदै बुधबार दिउँसोदेखि चालकहरूले कार्यालय अगाडि धर्ना दिएका हुन् ।
चालकहरू धर्नामा बसेपछि पथलैयामा मात्रै डेढसयभन्दा बढी गाडीहरू सडकमा रोकिएका छन् ।
ट्राफिक प्रहरीका अनुसार बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पनि पराल तथा भुस बोकेका गाडीहरू रोकिएको छ ।
तराई मधेसका जिल्लाबाट पराल तथा भु्स बोकेर हेटौंडा, चितवन, धादिङ, काठमाडौं, पोखरा लगायतका स्थानमा जान लागेका गाडीहरू सडकमै रोकेर चालकहरू धर्नामा बसेका हुन् ।
पराल तथा भुस ढुवानीको सिजनका बेला गाडीहरूलाई प्रहरीले ओभरलोडको बहानामा अनावश्यक दुःख दिने गरेको चालकहरूको आरोप छ ।
पशुपालन तथा च्याउ खेती गर्ने किसानले पराल स्टक गर्ने बेला ट्राफिक प्रहरीले अवरोध सिर्जना गर्दा आफूहरू मारमा परेको नेपाल च्याउ उत्पादक किसान संघका केन्द्रिय अध्यक्ष सन्तोष कार्कीले बताए ।
अध्यक्ष कार्कीले ट्राफिकले गाडी रोकेको पहिलो पटक नभई रोक्ने मिलाउने हुँदै आएको बताए । उनले अहिले मुख्य सिजनमा फेरि अवरोध सिर्जना गरिदिँदा आफूहरु मारमा परेको बताए ।
यता, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले ‘भब्बर’ लोडका कारण राजमार्गमा हुनसक्ने क्षति र दुर्घटनाको जोखिम कम गर्न आफूहरू सक्रिय भएको दावी गरे ।
प्रहरी उपरीक्षक सिलवालले ओभर मात्र होइन भब्बर लोड बोकेका यस्ता गाडीका कारण राजमार्गमा थुप्रै जोखिम बढिरहेको बताए ।