सामाजिक फीड-
जनकपुरधाम, मंसिर १७ गते ।
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले सदनमै राजिनमा घोषणा गरेका छन् । विश्वासको मत लिन आज दिउँसो २ बजे डाकिएको बैठकमा मुख्यमन्त्री यादवले राजिनामा दिएका हुन् ।
‘आजकै मितिबाट राजिनामा दिन्छु । र प्रदेश प्रमुखको कार्यालयमा गएर राजिनमा बुझाउँछु’ उनले सदनमा घोषणा गरे ।
मुख्यमन्त्री यादव विश्वासको मतको लागि आफ्ना मन्तव्यसहितको प्रस्ताव राख्ने क्रममा विपक्षी दलका सांसदहरु प्रदेशसभा बैठक छाडेर निस्केका थिए । सातदलीय गठबन्धनलाई लक्षित हुने गरी आफ्ना धारणा राख्न थालेपछि काँग्रेससहितका विपक्षी दलहरु बैठकबाट निस्केका थिए । सदनमा सत्ता पक्ष एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका सांसद मात्र सदनमा उपस्थित थिए ।
‘मैले यो कुर्सीसँग विश्वासको मत मागे । आज एमालेको दलको नेताले विश्वासको मत माग्दा, हामीसँग आँखा अगाडि नै विश्वासको मत दिन्न भनेर गएका छन् । आँखामा आँखा जुधाएर कुरा गर्ने आँट भएन, त्यसैले उहाँहरु भाग्नु भयो’ उनले भने ।
नेकपा एमालेका संसदीय दलका नेता यादव संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसितमा गत कार्तिक २३ गते राति मुख्यमन्त्री नियुक्त भएका थिए । कार्तिक २४ गते बिहान बर्दिबासको कालापानी स्थित पानस होटेलमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।
सरकार गठनविरुद्ध तीनवटा रिटउपर सुनुवाई गर्दै सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश गरेको थियो । यस्तै लिन नसकेको खण्डमा पुनः संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न भनेको थियो ।