Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १५ गते ।

इसराइलको आक्रमणबाट गजामा मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ।
गजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मृतकको संख्या ७० हजार एक सय पुगेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले इसराइलले हवाई हमला गर्दा ध्वस्त भएका भग्नावशेषहरुबाट तीन दिनमै ३ सय जनाभन्दा बढीको शव भेटिएको जनाएको छ।

उक्त भग्नावशेषमा अझै धेरै मानिसहरूको शव भेटिन सक्ने आकलन गरिएको छ।
युद्धविराम भए पनि विभिन्न बहानामा इसराइलले गजामा आक्रमण गर्दै आएको छ।
इसराइलले हमासले युद्धविराम सम्झौताको उल्लंघन गरेकोदेखि नियन्त्रण रेखामा इसराइली सेनाको हत्या गरेको आरोप लगाउँदै गजामा हमासलक्षित हमला गरेको थियो।

रोयटर्सले गजामा दुई वर्षको युद्धमा मारिएको मानिसहरूको तथ्यांकबारे भने इसराइलले कुनै प्रतिक्रिया नदिएको जनाएको छ।
इसराइली पक्षले मृतकसम्बन्धी गजाबाट आउने तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्न उठाउँदै आएपनि आफ्नै आधिकारिक अनुमान सार्वजनिक गरेको छैन।


सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी करिब १ हजार २ सय जनाको हत्या र २५१ जनालाई बन्धक बनाएपछि गाजामा युद्ध सुरु भएको थियो।
त्यसपछि इसराइली प्रत्याक्रमणले गाजाको ठूलो क्षेत्र ध्वस्त बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *