सामाजिक फीड-
जनकपुरधाम, मंसिर १४ गते ।
पार्टीको निर्देशन विपरीत मधेशका वन तथा वातावरण मन्त्री बनेकी कंचन विच्छाको प्रदेश सांसद पद धरापमा परेको छ । उनलाई प्रदेशसभा सदस्य पदबाट हटाउन राप्रपाले मधेश प्रदेशसभालाई पत्राचार गरेको छ ।
राप्रपाबाट एक मात्र प्रदेशसभामा समानुपातिक सांसद रहेकी विच्छा गत कार्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । उनलाई मंसिर ८ गते मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रीको जिम्मेबारी तोकेका थिए ।
राप्रपाले उनलाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । नबाहिरिएपछि स्पष्टीकरण समेत सोधेको थियो । पार्टीको नीति नियमको अटेर गरेपछि प्रक्रिया पुर्याएर राप्रपाले उनलाई प्रदेशसभा सदस्य पदबाटै हटाउन राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेशसभामा पत्र पठाएको हो ।
राप्रपाका मुख्य सचिव केदार बहादुर अधिकारीको हस्ताक्षरसहित प्रदेश सभालाई पठाइएको हो । आजै पत्र प्रदेशसभा सचिवालयलाई प्राप्त भएपछि उपसभामुख बबिता राउत इशरलाई बुझाइएको सचिव बासु प्रसाद कोइरालाले जानकारी दिए ।
उपसभामुख इशरले पत्र प्राप्त गरेको र त्यस बारे कर्मचारीसहित कानुन विज्ञसँग छलफल गरेर सूचना प्रकाशन गर्ने बताइन् ।