सामाजिक फीड-
जनकपुरधाम, मंसिर १४ गते ।
अन्तरजातीय विवाह गरेका एक युवकलाई सिरहामा प्रहरीले थुनामा राखेको घटना बाहिरिएको छ । गैरदलित युवतीसँग प्रेम विवाह गरेका सुखीपुर नगरपालिका ५ का २१ वर्षीय अमृतकुमार मोचीलाई प्रहरीले गैरकानुनी ढंगले शुक्रबार रातिदेखि थुनामा राखेको पाइएको हो । शनिवार राति अमृतलाई सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पुल छेउबाट प्रहरीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय, बन्दिपुरको टोलीले उनलाई विवाह मण्डपबाटै इलाका प्रहरी कार्यालय, गोलबजार पुर्याएको थियो ।
त्यहाँ हिरासतमा राखिएका उनलाई स्थानीय अगुवाहरूको पहलपछि शनिबार साँझ मात्रै आफन्तको जिम्मा लगाइएको हो। अमृतसँगै उनकी पत्नी धनगढीमाई नगरपालिका २ की २० वर्षीया कोसिकाकुमारी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । रातभर गोलबजारस्थित सेफ हाउसमा राखिएकी उनलाई पनि अमृतकै परिवारलाई जिम्मा लगाइएको छ ।
विगत एक वर्षदेखि प्रेममा रहेका उनीहरूलाई शुक्रबार विवाहका लागि आफन्त र गाउँलेले जनकपुरस्थित जानकी मन्दिर लगेका थिए । तर, त्यहाँ विवाह सकिन लागेका बेला युवतीका बुबा फुलगेन साहसहित १५ २० जनाको समूह पुगेर विवाद गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय, धनुषामा लगेको थियो ।
धनुषा प्रहरीमा उनीहरुले उमेर पुग्ने कागजात देखाउँदै राजीखुसी विवाह गरेको बताएपछि प्रहरीले दुवैलाई शनिबार युवकको परिवारलाई जिम्मा लगाइदिएको थियो ।
तर, अमृतकी आमा रुकमिनी मोचीले भने सिरहा प्रहरीले छोरा र बुहारीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएको आरोप लगाइन् । राजीखुसी विवाह गरेका छोरा बुहारीलाई छुटाउने नियतले प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको उनको दाबी छ ।
उनका अनुसार नागरिकता देखाएपछि धनुषा प्रहरीले छाडिदिएपछि सुरक्षित ढंगले घर पुर्याइदिनुको साटो सिरहा आइपुगेपछि यहाँका प्रहरीले अमृतलाई थुनेर राखेका हुन ।
सिरहा प्रहरीले भने शान्ति सुरक्षाका लागि युवक र युवतीलाई नियन्त्रणमा राखिएको दाबी गरेको छ । उनीहरूलाई छाड्दा दुई पक्षबीच विवाद हुन सक्थ्यो भन्दै नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।