सामाजिक फीड-
जनकपुरधाम, मंसिर १२ गते ।
राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध गराउन अटेर गर्दै आएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम इकाई जनकपुरका प्रमुखलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ ।
सूचना आयुक्तद्वय गगन बिष्ट र दुर्गा भण्डारी पौडेलद्वारा जारी आदेशमा सूचना प्रदान नगर्नुको वैध कारण वा प्रमाण भए स्पष्ट रूपमा आयोगमा पेश गर्न निर्देशन दिएको हो । हाल इकाई कार्यालय जनकपुरका प्रमुख प्रेमीलाल साह रहेका छन् ।
धनुषा बटेश्वर गाउँपालिका–२ निवासीसमेत रहेका पत्रकार शैलेन्द्र महतो क्रान्तिले अध्ययन तथा समाचार प्रयोजनका लागि गत भदौ ११ गते कार्यालयसँग विभिन्न विषयका सूचना माग्दै निवेदन दिएका थिए । याअघि पनि उनले दुईपटक सूचना माग्दा कार्यालयले बेवास्ता गरेका थिए ।
तेस्रो पटकमा समेत सूचना दिन कार्यालयले जालझेल गरेपछि पत्रकार महतोले असोज ३१ गते सूचना उपलब्ध गराउन तथा कार्यालयप्रमुखविरुद्ध कारबाहीको माग गर्दै आयोगमा पुनरावेदन दर्ता गरेका थिए ।
सो पुनरावेदनको सुनुवाइ गर्दै राष्ट्रिय सूचना आयोगले कात्तिक १७ गते कार्यालयलाई तोकिएको सूचनामा कुनै वैध कारणले उपलब्ध गराउन नसकिने भए त्यसको लिखित स्पष्टिकरण पठाउन आदेश दिएको हो ।
आयोगले विपक्षी पक्षलाई पुनरावेदनको प्रतिलिपिसहित आदेश पठाई तोकिएको अवधिभित्र लिखित जवाफ नआएमा नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ ।
