सामाजिक फीड-
जनकपुरधाम, मंसिर १२ गते ।
श्रीलंकामा लगातार परेको भारी वर्षाले यो हप्ता भीषण बाढी र पहिरो ल्याई ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। देशभरका विभिन्न स्थानमा आएको बाढी-पहिरोमा परेर कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना अझै बेपत्ता छन्। हालका वर्षहरूमा देखा परेका सबैभन्दा गम्भीर प्राकृतिक प्रकोपहरूमध्ये यो एक मानिन्छ।
डिजास्टर म्यानेजमेन्ट सेन्टर ९डीएमसी० का अनुसार चिया बगानका लागि चर्चित बदुल्ला जिल्लामा राति गएको ठूलो पहिरोमा मात्र २१ जनाले ज्यान गुमाएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूले बाढीको प्रवाहले घर–घरै बगाएको भयावह दृश्य देखाएका छन्। प्रभावित परिवारहरूलाई अस्थायी आश्रयस्थलमा राखिएको छ।
उक्त संकटकै बीच, श्रीलंका आगामी दिनहरूमा थप खराब मौसमको सम्भावनासँग जुध्न तयारीमा जुटिरहेको छ। ‘दित्वाह’ नामक चक्रवात पूर्वी तटतर्फ सर्न थालेपछि सतर्कता बढाइएको हो। सुरुमा गहिरो दबाबको रूपमा विकसित भएको यो प्रणाली द्रुत गतिमा बलियो बन्दै चक्रवातमा परिणत भएको र भारतको तटमा ल्यान्डफल गर्न सक्ने बताइएको छ।
डीएमसीको पछिल्लो प्रतिवेदनअनुसार १७ जिल्लामा चरम मौसमी प्रकोपको असर परेको छ। एक हजार १५८ परिवारका करिब चार हजार व्यक्ति प्रभावित भएका छन्। कम्तीमा १० जना घाइते भएका छन् भने तीन घर पूर्ण रूपमा भत्किएका र ३८१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको छ।
निरन्तर पानी परिरहेकोले विशेषगरी मध्य र पहाडी क्षेत्रहरूमा थप बाढी र पहिरोको जोखिम बढेको अधिकारीहरूले चेतावनी दिएका छन्। सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमी अवस्था झन् कठोर बन्दै गएकाले विश्वविद्यालयले बिहीबारदेखि शनिबारसम्मका सबै परीक्षा स्थगित गरेको छ। वर्षाले अनेकौं जिल्लामा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ र प्रमुख सडकहरू समेत बन्द गरिएको छ।
आपतकालीन उद्धार टोलीहरू उच्च जोखिम भएका क्षेत्रहरूमा खोजी तथा राहत कार्यलाई तिव्र बनाइरहेका छन्। यसैबीच, सरकारले बढ्दो जलस्तर र पहिरोको खतरा प्रति सचेत रहन नागरिकलाई निरन्तर खबरदारी जारी राखेको छ।