सामाजिक फीड-
जनकपुरधाम, मंसिर ९ गते ।
बारामा गएराति प्रहरी र तस्करबीच दोहोरो गोली हानाहान भएको छ। आइतबार मध्यराति गाँजासम्बन्धी सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट निस्किएको गस्ती टोली र तस्कर समूहबीच पचरौता नगरपालिका–६, बेल्दारी गाउँस्थित दसगजामा भिडन्त भएको हो।
प्रहरीको फायरिङ पछि तस्करहरूले प्रयोग गर्दै आएका चारवटा भारतीय मोटरसाइकल छाडेर भारततर्फ भागेका थिए। त्यतिबेला ट्र्याक्टरमा त्रिपालले छोपेर नेपालतर्फ ल्याइँदै गरेको सामानसहितको ट्र्याक्टर पनि फायरिङपछि भारततर्फ फर्किएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहले बताए।
‘नेपाल प्रवेश गर्दै गरेको लोडेड ट्र्याक्टर नियन्त्रणमा लिन खोज्दा तस्करले दुई राउन्ड फायर गरे। त्यसपछि प्रहरी टोलीले सात राउन्ड फायर गर्यो,’ निरीक्षक साहले भने, ‘फायरिङपछि तस्करहरू ट्र्याक्टर लिएर भारत भागे।’
भाग्दागर्दा तस्करले खसालेका दुईवटा भारतीय सिम प्रयोग भएका एन्ड्रोइड मोबाइल फोन प्रहरीले बरामद गरेको छ। ट्र्याक्टरमा काजु ल्याइँदै गरिएको गोप्य सूचना पाइएको प्रहरीको भनाइ छ। ‘सीमामा गाँजाको गोदाम रहेको सूचना पाएर प्रहरी परिचालन गरिएको थियो। तर गाँजा–सम्बन्धी सुराक खोज्दा अर्कै तस्कर समूहसँग जम्काभेट भयो,’ साहले बताए। उनका अनुसार घटना स्थलमा करिब २०–२५ तस्कर थिए।
यसबाहेक भारतीय नागरिक रञ्जित कुमारको नाममा बनेको सवारी चालक अनुमति पत्र पनि बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्तै रुटमा गत मंसिर १ गते ५४ केजी गाँजा भारततर्फ बाइकमार्फत लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।