सामाजिक फीड-
जनकपुरधाम, मंसिर ८ गते ।
विवाहपञ्चमी महोत्सवमा भक्तजनको भीड बढेसँगै जानकी मन्दिर वरिपरिको क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ।
सीताराम विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विशेष गुरु योजना तयार गरी लागू गरेको हो।
धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीका अनुसार महोत्सव अवधिभरका लागि १४० जना ट्राफिक जनशक्ति खटाइएको छ।
प्रहरी निरीक्षक शाहीका अनुसार मन्दिर वरपर निर्धारण गरिएको क्षेत्रमा सबै प्रकारका गाडी प्रवेश निषेध गरिएका छन् । तर मोटरसाइकलको हकमा घर भएका तथा अस्पताल जानुपर्ने व्यक्तिलाई व्यवहारिक रूपमा आवत–जावत गर्न दिने व्यवस्था गरिएको छ।
परिक्रमा सडकभित्र जानकी मन्दिर क्षेत्रमा सवारीसाधन आवतजावत गर्नमा रोक लगाइएको हो ।
बाहिरबाट जनकपुरधाममा प्रवेश गर्ने सवारी साधनका लागि विभिन्न स्थानमा पार्किङ्ग स्थल तोकिएको छ। पूर्वतर्फ यदुकुहाबाट आउने सवारीलाई पुलचोकको ५२ विघामा राख्ने व्यवस्था गरिएको छ। कप्लेश्वर तर्फबाट आउने सवारीलाई कप्लेश्वर चौकी नजिकको चौरमा पार्किङ्ग गरिनेछ। पश्चिमतर्फ बलवा–बिसपिट्टी मार्ग हुँदै आउने सवारी साधनलाई बलवा चौकी नजिक तथा आँखा अस्पताल अगाडि अवस्थित अग्निकुण्ड क्षेत्रमा पार्किङ्ग गरिनेछ।
दक्षिणतर्फ जलेश्वरबाट आउने सवारीका लागि नयाँ बसपार्कदेखि विन्हीसम्म र बिन्ही ६ लेन सडक क्षेत्रमा पार्किङ्गका लागि स्थान छुट्याइएको छ, जबकि जटहीतर्फबाट आउने सवारी पनि त्यही ६ लेन सडकमा व्यवस्थापन गरिनेछ। उत्तरतर्फबाट आउने सवारी साधनलाई मुजेलियास्थित कवडहलको प्राङ्गणमा पार्किङ्ग गरिनेछ।
एक सातासम्म जारी रहने विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज मटको विधि सम्पन्न हुनेछ ।