सामाजिक फीड-
जनकपुरधाम, मंसिर ५ गते ।
बाराको सिमरामा बुधबार भएको झडपका क्रममा जेनजी समूहका युवामाथि कुटपिट गरेको आरोपमा स्थानीय अरविन्द साह पक्राउ परेका छन्। जेनजी युवाहरूको किटानी जाहेरीपछि जीतपुर–सिमरा उपमहानगरपालिका-२ का ३८ वर्षीय साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।
बुधबारको घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ नगरी वार्ता नगर्ने जेनजी समूहको अडानपछि प्रहरीले साहलाई पक्राउ गरेको हो। जेनजी समूहका स्थानीय संयोजक सम्राट उपाध्यायका अनुसार घटना दिन प्रमुख भूमिका निभाएका साहविरुद्ध कारबाही सुरु भएपछि मात्र वार्तामा बस्ने वातावरण बनेको हो। मधेस प्रदेश संयोजक शिव यादवले पनि कुटपिटमा संलग्नलाई कानुनी कारबाहीको विश्वसनीयता देखिएपछि मात्रै वार्तामा सहभागी हुने बताए।
जेनजी समूहले बुधबारको घटनामा संलग्न सात-आठ जनाविरुद्ध जाहेरी दर्ता गरेको थियो। तीमध्ये एमालेबाट निर्वाचित दुई वडाध्यक्षलाई बिहीबार बिहानै पक्राउ गरेर सात दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ।