सामाजिक फीड-
जनकपुरधाम, मंसिर ५ गते ।
मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले राजीनामा दिएको करिब दुई सातापछि मुख्यमन्त्रीको सरकारी निवास छाडेका छन्।
मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव सबैभन्दा ठूलो दलको हैसियतले नियुक्त भएपछि पनि पूर्व मुख्यमन्त्री सोनल सरकारी निवासमै बस्दै आएका थिए । सोनलले गत कार्तिक २२ गते राजीनामा दिएका थिए ।
मुख्यमन्त्री यादवले निवर्तमान मुख्यमन्त्री सोनललाई निवास खाली गर्न दिएको अल्टिमेटम समयभित्रै खाली गरेका हुन् ।
सोनलले निवास नछोडेपछि मुख्यमन्त्री यादवले विभिन्न दलका नेता तथा प्रमुख सचेतकलाई मुख्यमन्त्री निवास खाली गराइदिन आग्रह गरेका थिए ।
मुख्यमन्त्री यादवले आफूलाई सेना र प्रहरीले मुख्यमन्त्री निवासमा बस्न पटकपटक आग्रह गर्दै आएको र आफू भिडन्त नचाहेको कारणले मुख्यमन्त्री निवासमा नजान चाहेको भन्दै विभिन्न राजनीतिक दलहरुलाई निवास छाड्न सहयोग गर्न आग्रह गरेका थिए।
यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि सात दल निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ । यादव विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी भइसकेको छ भने मंसिर ११ गते अर्को पेसी तोकिएको छ ।