सामाजिक फीड-
जनकपुरधाम, मंसिर ५ गते ।
बाराको सिमरामा तीन दिनदेखि जारी जेनजी युवाको प्रदर्शनका बीच स्थानीय प्रशासनले शुक्रबार वार्ताबाट पछि हटेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयले प्रदर्शनकारीलाई औपचारिक वार्ताका लागि आह्वान गरे पनि शुक्रबार प्रशासनले वार्ताको आवश्यकता नभएको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आन्दोलनरत पक्षका मुख्य मागहरू पूरा भइसकेकाले औपचारिक वार्ताको आवश्यकता छैन। ‘छलफलका लागि प्रशासनको ढोका सधैं खुला छ,’ प्रजिअ मिश्रले भने।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष तामाङले पनि प्रशासनले आफ्नो काम गरिरहेकाले छुट्टै वार्ताको विषय बाँकी नभएको बताए। ‘जाहेरी परेका व्यक्तिहरूलाई पक्राउ गरिरहेका छौं, अन्य माग वार्तामा बस्नु पर्ने खालका छैनन्,’ उनले स्पष्ट पारे।
बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवामाथि कुटपिट गरेपछि सुरु भएको तनाव दुई दिनयता बढ्दै गएको छ। कर्फ्यू आदेश अवज्ञा गर्दै जेनजी युवाहरूले वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर लगातार प्रदर्शन गर्दै आएका छन्।