सामाजिक फीड-
जनकपुरधाम, मंसिर ३ गते ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । पदअनुकूल आचरण नगरेको आरोपमा दर्ता भएको प्रस्ताव बुधबारको प्रदेशसभा बैठकले दुई तिहाइ बहुमतले पारित गरेपछि मण्डल स्वतः पदमुक्त भएका हुन् ।
उपसभामुख बबिताकुमारी राउत ईशरले प्रस्तावमा ७६ मत परेका र ७८ जना सांसद उपस्थिति रहेको जानकारी दिँदै मण्डल पदमुक्त भएको घोषणा गरिन् ।
कात्तिक २७ गते सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलमाथि पदअनुकूल आचरण नभएको भन्दै प्रस्ताव दर्ता गराएका थिए । त्यसै प्रस्तावको छलफलका लागि उपसभामुख ईशरले आजको बैठक आह्वान गरेकी थिइन् ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रस्ताव अघि सारेका थिए। छलफलका क्रममा लोसपाका सांसद उपेन्द्र महतो, जसपा नेपालका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी जीवछीदेवी यादव, नेकपा एकीकृत समाजवादीका गणेश पटेल र प्रमोद यादवलगायतले आ–आफ्ना धारणा राखे ।
छलफलपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो, जसलाई मत विभाजनमार्फत पारित गरिएको हो। नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
यता, नेकपा एमालेतर्फबाट सुरुमा एक सांसद सहभागी भए पनि बैठक स्थगितपछि पुनः सुरु हुँदा कुनै सांसद उपस्थिति थिएनन्।