सामाजिक फीड-
जनकपुरधाम, मंसिर २ गते ।
मधेस प्रदेशसभा बैठक आह्वान गर्न सात दलले माग गर्दै उपसभामुख बबिता राउत ईशरलाई पत्र बुझाएका छन् । सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता रहेको समय ७ दलका प्रदेशसभा सदस्यहरू उपसभामुखलाई भेटेर बैठक आह्वान गर्न माग गरेका हुन् ।
विपक्षी दलहरूको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख ईशर समक्ष प्रदेशसभा बैठक मंसिर ३ गते बुधबार आह्वान गर्न माग गरेका हुन् ।
साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरे बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेकोमा सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडी बढाउने उद्देश्यका साथ ३२ जना प्रदेशसभा सदस्यहरूले प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको जानकारी दिए ।
प्रदेशसभा बैठक आह्वान गर्ने माग मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र रहेका छन् ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल गत कात्तिक २२ गते विश्वास मत लिनका लागि बसेको प्रदेशसभा बैठक स्थगित भएदेखि अहिलेसम्म बस्न सकेको छैन ।