सामाजिक फीड-
जनकपुरधाम, मंसिर १ गते ।
धनुषाको मिथिला बिहारी नगरपालिका–२, पुरन्दाहामा आइतबारदेखि दुई दिने सर्प महोत्सव सुरु भएको छ । ‘सर्पको महत्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नारासहित कल्चरल भिलेजमा महोत्सव आयोजना गरिएको हो ।
मिथिला वाइल्ड लाइफ ट्रस्ट र सेभ द लाइफको संयुक्त आयोजनामा भइरहेको महोत्सवको उद्घाटन सर्पदंश उपचार विशेषज्ञ डा. छविलाल थापाले गरेका हुन् ।
सर्पको महत्वबारे जनचेतना वृद्धि गर्न, मानव–वन्यजन्तु सहअस्तित्वको वातावरण बनाउन तथा जैविक विविधता संरक्षणमा योगदान पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले बताए । उनका अनुसार महोत्सवले सर्प र वातावरणबीचको सम्बन्ध, जैविक विविधता संरक्षणमा सर्पको भूमिका, सर्प–मानव द्वन्द्व न्यूनिकरण तथा सर्पको पर्यावरणीय, चिकित्सकीय, धार्मिक र सांस्कृतिक महत्व उजागर गर्छ ।
महोत्सवमा सर्पका प्रजाति, विषालु र अविषालु सर्प, सर्पको जीवनचक्र, सर्पदंश उपचार विधि तथा उद्धारसम्बन्धी जानकारी समेटिएका स्टलहरू राखिएका छन् । विभिन्न विद्यालयहरूले पनि विद्यार्थीमार्फत सर्पबारे जनचेतनामूलक जानकारी दिने उद्देश्यले आफ्ना प्रदर्शनी स्टलहरू सञ्चालन गरेका छन् ।