सामाजिक फीड-
जनकपुरधाम, कात्तिक ३० गते ।
धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडा अध्यक्ष विन्देश्वर यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३५ वर्षीय शम्भु कुमार यादव, ३० वर्षीय धर्मनाथ यादव, २८ वर्षीय पप्पु यादव र २८ वर्षका मनोज कुमार यादव छन् ।
गत कार्तिक २८ गते साँझ स्थानीय प्रकाश यादवको बुबाको मृत्यु संस्कारको १० दिने भोजमा भएको विवाद छुटाउन गएका वडाध्यक्ष यादवको गोली दागेर हत्या भएको थियो ।
धनुषा प्रहरीका अनुसार झगडाको क्रममा विदामा घर आएका जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक हवल्दार शम्भु कुमार यादवले कटुवा पेस्तोल प्रयोग गरी वडाध्यक्षको छातीमा गोली प्रहार गरी हत्या गरेका थिए ।
अनुसन्धानका क्रममा प्रयोग भएको कटुवा पेस्तोल एक थान र गोलीको खोका एक थान बरामद गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए ।
घटनमा पक्राउ परेकाहरुलाई धनुषा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।