Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, कार्तिक ३० गते ।

भारतले नेपाल-भारत सीमानाकाबाट आउजाउ गर्नेहरूको विवरण राख्न नेपाल पक्षलाई प्रस्ताव गरेको छ ।

भारतको नयाँ दिल्ली स्थित आयोजित नवौँ सीमा सुरक्षा समन्वयात्मक बैठकमा भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनले यस्तो प्रस्ताव राखेका हुन् । उनले प्रस्ताव राखेपनि सीमानाका भएर आउजाउ गर्नेहरूको अभिलेख राख्ने निर्णय अहिले भएको छैन ।

सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल सहितको टोली सीमा सुरक्षा समन्वयात्मक बैठक सकेर नेपाल फर्किएको छ । छलफलमा सहभागी एकजना अधिकृतका अनुसार भारतीय गृह मन्त्रालयका सचिवले राखेको प्रस्ताव गृह मन्त्रालयका सचिवसँग राखिनेछ । नेपालको गृहमन्त्रालयबाट सहमति भएपछि अभिलेख राख्ने विषय लागु गर्न सकिने उनले बताए ।

बैठकमा सशस्त्र सीमा बल ९एसएसबी०का महानिर्देशक सञ्जय सिंघलसँग आईजी अर्यालले जेनजी प्रदर्शनको क्रममा लुटिएका र जेलबाट भागेका कैदीबन्दी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए ।

लुट र आतंकमा संलग्नहरूको फोटो सहितको विवरण पठाउन सिंघलले अनुरोध गर्दै फोटो सहितको विवरण प्राप्त भएमा नियन्त्रणमा लिन र सहयोग गर्न तयार रहेको बताएका छन् ।

सिंघलले जेलबाट भागेका कैदी र लुटिएका सुरक्षाकर्मीको हतियार भारत पक्षलाई पनि चुनौतीको विषय भएको बताए ।
नेपाल र भारतको बिचमा १२ वटा एजेन्डामा छलफल र हस्ताक्षर भएको छ ।

कार्तिक २६ देखि २८ सम्म भएको समन्वयात्मक बैठकमा आईजी अर्याल, एआईजी गणेश ठाडा मगर, नेपाल प्रहरीका डीआईजी दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक राम प्रसाद दास, सशस्त्रका एसएसपी किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र परराष्ट्रका उपसचिव विजयराज तण्डुकार लगायतका अधिकारीहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *