सामाजिक फीड
जनकपुरधाम, कार्तिक २८ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अनुशासन समितिले मधेस प्रदेश सरकारकी मन्त्री कञ्चन विच्छा साहलाई कड़ा कारबाही सिफारिस गरेको छ। समितिले उनलाई सांसद र पार्टीको साधारण सदस्यता दुवैबाट हटाउन पार्टी नेतृत्व समक्ष प्रस्ताव पेश गरेको हो।
पार्टीलाई जानकारी नदिई एमाले नेतृत्वको मधेस सरकारमा मन्त्री बनेको र अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट फिर्ता हुन दिएको निर्देशन अवज्ञा गरेको आरोप उनीमाथि लगाइएको छ। राप्रपा अनुशासन समितिले कात्तिक २५ गते उनीसँग २४ घन्टे स्पष्टीकरणसमेत मागेको थियो।
समितिका सदस्य तथा सचिव भइसकेका कोशी प्रदेश सभा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले विच्छालाई स्पष्टीकरण मागेका थिए। विच्छा समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी हुन्।
राप्रपाले जेनजी आन्दोलनपछि भदौ २४ गते संघीय तथा प्रदेश सभा सदस्यहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेको थियो। तर सोही घोषणापछि पनि विच्छा मन्त्री बन्नु र मन्त्री बनेका समयमा नै राजीनामा दिए भन्ने आधारमा स्पष्टीकरण सोधिएको विषयले पार्टीभित्र नै विवाद र आलोचना निम्त्याएको बताइन्छ।