सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २७ गते ।
मधेस प्रदेश सरकार गठनको विरोधमा सात दलले सुरु गरेको धर्ना कार्यक्रम तेस्रो दिन पनि जारी छ। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललगायतका सात दलले मुख्यमन्त्री नियुक्ति संविधान विपरीत भएको आरोप लगाउँदै धर्ना जारी राखेका हुन्।
मंगलबारदेखि सुरु भएको शान्तिपूर्ण धर्ना आगामी शनिबारसम्म सञ्चालन हुने जनमत पार्टीका प्रदेशसभा सदस्य संजय यादवले जानकारी दिए। उनका अनुसार धर्ना सम्पन्न भएपछि विरोधका थप कार्यक्रम तय गर्ने तयारी भइरहेको छ।
लोसपाका प्रदेशसभा सदस्य उपेन्द्र महतोले मधेसको अधिकार र जनसरोकारको प्रश्न भएकाले सडकमा उत्रिन बाध्य भएको बताए। उनले हालको अवस्थाको अन्तिम समाधान सर्वोच्च अदालतबाट नै सम्भव रहेको उल्लेख गर्दै मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति बदर गरी संविधानको धारा १६८९२० अनुसार नयाँ सरकार गठनका लागि आदेश दिनुपर्ने माग गरे।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले न्यायका लागि दुईवटा विकल्प मात्र बाँकी रहेको बताए । पहिलो न्यायालय र दोस्रो सडक संघर्ष रहेको भन्दै १०७ मध्ये ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेको बताए । उनले अन्तरिम आदेश समेत आइसकेको भन्दै आइतबारको पेशीमै न्यायिक निर्णय आउने आशा गरिएको बताए ।
संविधानको धारा १६८९२० अनुसार मुख्यमन्त्री बनेका जितेन्द्रप्रसाद सोनलले विश्वासको मत नपाउने स्थिति नदेखेपछि गत शनिबार राजीनामा दिएका थिए। सोनलको राजीनामापछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८९३० बमोजिम सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।