Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २६ गते ।

धनुषामा गहना लुट्ने उद्देश्यले एक महिलाले आफ्नै छिमेकी महिलाको हत्या गरेकी छन् । धनुषाको हंसपुर नगरपालिका–७ नुवाखोर टोलकी ६२ वर्षीया चन्द्रकला देवी दासको सोमबार राति खेतमा विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी गणेश बमका अनुसार मृतकको शव मंगलबार राति करिब ९ बजे घरदेखि करिब पाँच सय मिटर टाढा खेतमा भेटिएको थियो । अनुसन्धानका क्रममा उनको हत्या छिमेकी महिलाले गहना लुट्ने उद्देश्यले गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा स्थानीय बिहारी मण्डलकी ४५ वर्षीया पत्नी पवित्री देवी मण्डललाई पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार (फुर्सा) र मृतकबाट लुटिएका गहना बरामद गरेको डिएसपी बमले बताए । बरामद गरिएका गहनामा दुई थान कानका झुम्का, दुई थान बाली, दुई थान मंगलसुत्र र दुई थान खुट्टाका कंडा रहेका छन्् ।

प्रहरीका अनुसार घटनाका क्रममा मृतकले प्रतिकार गर्दा पवित्राको बायाँ हातको चुरे औंलाको टुप्पा छिनिएको थियो । यही औंला छिनिएको अवस्थाबाट उनको पहिचान पत्ता लागेको बताइएको छ । प्रारम्भिक बयानमा पवित्राले गहना लुट्ने योजनाअनुसार चन्द्रकला देवीलाई खेतमा लगेर हत्या गरेको स्वीकारेकी छन् ।

हत्या अभियोगमा पवित्री देवी मण्डलमाथि कर्तव्यज्यान मुद्दा दर्ता गरी धनुषा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *