Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, कार्तिक २५ गते ।

मधेश प्रदेश सरकार गठनविरुद्ध सात राजनीतिक दलका सांसदहरूले आज मधेश प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाको विरोधमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल लगायतका दलका सांसदहरू धर्नामा बसेका हुन्।

सरकार गठन प्रक्रियालाई असंवैधानिक भन्दै एमालेबाहेकका दलहरूले आजै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। कुल ७४ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित दर्ता गरिएको रिटको पेसी बुधबारका लागि तोकिएको छ।

रिट निवेदन दर्ता गर्न नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोसपाका नेता जयलुन राइन लगायतका नेताहरू सर्वोच्च अदालत पुगेका थिए। उनीहरूलाई रिट प्रक्रियामा मधेश प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले सहयोग गरेका थिए।

गत आइतबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासस्थित पानस होटलमा नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ ग्रहण गराइएको थियो। सो घटनाप्रति कांग्रेससहितका दलहरूले कडा आपत्ति जनाएका छन्।

यसबीच, होटलमै मुख्यमन्त्रीलाई शपथ खुवाउने प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पदमुक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *