सामाजिक फीड
जनकपुरधाम, कार्तिक २५ गते ।
मधेसको कृषिका लागि लाइफलाइनको रुपमा रहेको राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्न प्रक्रिया सुरु भएको हो । बाँध (हेडवक्र्स) लगायत संचरना बनाउने ठेकेदार कम्पनी पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।
पटेल–रमण जेभीले विद्युत गृहलगायतका सिभिल संरचना, गेटलगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि उक्त ठेक्का लिएकोमा सम्झौताअनुसार काम नगरेको भन्दै मंगलबार आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै सार्वजनिक सूचना जारी गरेको छ।
ठेक्काको अवधि करिब ६१ प्रतिशत सकिंदा भौतिक प्रगति करिब १० प्रतिशत मात्र रहेको छ । प्रगति बढाउन कुनै तदारूकता नदेखाएको, सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै चासो नदिएकाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ।
ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै आयोजनाले पटेल-रमण जेभीले कार्यसम्पादन जमानतवापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफतको प्रक्रियासमेत अगाडि बढाएको छ।
आयोजनामा निर्माणमा अस्वाभाविक ढिलाइ देखाएपछि गत असोज ७ गते मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले छलफल गरेका थिए।
सुरूङ निर्माण सम्पन्न भइसकेको तर बाँध, विद्युत गृहलगायत संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका आयोजनालाई नयाँ शिराबाट अगाडि बढ्नुको विकल्प नरहेको उनले बताएका थिए ।
आयोजना निर्माणका लागि पटेल(रमण जेभीसँग १४ अर्ब ८ करोड ८ करोड रूपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो।
अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम पटेल-रमण जेभीले कबोल गरेको थियो।
२०७९ माघबाट निर्माण व्यवसायीले काम सुरू गरेको थियो। २०८४ असारभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख रहेपनि हालसम्मको भौतिक प्रगति करिब १० प्रतिशत मात्र छ। हालसम्म २ अर्ब १४ करोड रकम भुक्तानी गरिएको छ।