सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २४ गते ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ।
आइतबार बेलुकादेखि नै सो क्षेत्रमा हात्ती देखिएपछि पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्र आतंकित बनेका थिए।
सोमबार बिहान ८ बजे ना४ख १८३० नम्बरको ट्रकका चालकमाथि हात्तीले आक्रमण गर्दा ट्रकबाट हाम्फालेर भाग्ने प्रयासमा जितपुरसिमरा-१ का करिब ४० वर्षीय राजकुमार चौधरी घटनास्थलमै मृत्यु भएका छन्।
हात्तीले बेलुकादेखि नै आतंक मच्चाइरहेको देखेर प्रशासनले पूर्वपश्चिम राजमार्गमा गुड्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको थियो। तर केही चालकले अटेर गर्दा यस्तो दुर्घटना भएको बारा प्रहरीले जनाएको छ।
राजमार्गको पथलैया र निजगढ क्षेत्रबीच आतंक मच्चाउने हात्तीलाई धपाउन बारा र चितवनबाट समेत टोली परिचालन गरिएको थियो। टोली परिचालनपछि सोमबार १२:३० बजेपछि मात्र राजमार्गमा गाडी चल्न थालेको प्रहरीले जानकारी दिएको छ।