सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २४ गते ।
मधेस प्रदेश सरकारमा पार्टीका सदस्यहरूको सहभागिताप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले राप्रपाका सदस्यहरूको मधेस प्रदेश सरकारमा सहभागिता “अनुशासनको गम्भीर उल्लंघन भएको बताएका छन्।
उनले लेखेका छन् मधेस प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो पार्टी अनुशासनको स्पष्ट उल्लंघन हो। त्यसैले सम्बन्धित सदस्यहरूलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिइन्छ, अन्यथा विधान बमोजिम कारबाही हुनेछ।”
राप्रपा नेतृत्वले मधेस प्रदेश सरकार विघटनको पक्षमा रहेको अवस्थामासमेत आफ्नै सदस्यहरू सरकारमा सहभागी हुनुलाई अध्यक्ष लिङ्देनले पार्टी अनुशासन विपरीतको कार्यको रूपमा लिएका छन्। उनले निर्देशन अवज्ञा गरी सरकारमा रहेका सदस्यहरूलाई विधानअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।
नेपालको संविधानको धारा १६८(३) बमोजिम गठन भएको वर्तमान मधेस प्रदेश सरकारमा राप्रपाकी कञ्चन विच्छा विनाविभागीय मन्त्रीका रूपमा सहभागी भएकी छन्।