सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २३ गते l
भैरहवाबाट आलु र प्याज लिएर काठमाडौंतर्फ आउँदै गरेको एक ट्रक धादिङको कमेरे भिर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको छ। पृथ्वी राजमार्गअन्तर्गत आज बिहान करिब ३ बजेर ४५ मिनेटमा ट्रक अनियन्त्रित भई महेश खोलामा खसेको हो।
दुर्घटनामा ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ का ३३ वर्षीय अझय सुनार र रामेछाप सुनापती गाउँपालिका-४ का २२ वर्षीय सन्जित खाती घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट सिम्लेबाट प्रहरी सहायक निरीक्षक केशव पौडेलको टोली घटनास्थल पुगेर घाइतेहरूलाई उद्धार गरी सिम्लेस्थित राजु मेडिकल हलमा उपचारका लागि पठाएको हो।
प्रहरीका अनुसार दुर्घटनास्थल अस्थायी प्रहरी पोष्ट सिम्लेबाट करिब डेढ किलोमिटर पूर्वतर्फ पर्दछ। ट्रक भने हालसम्म दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।