सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २३ गते ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय हस्तक्षेपविरुद्ध मधेशमा विद्रोह भएको छ । माओवादीको विद्रोहले मधेशमा मुख्यमन्त्री जितेन्द्र सोनलको सरकार २५ दिनमै ढल्न पुगेको छ । शनिबार विश्वासको मतको प्रस्ताव पेश हुने बैठकमा माओवादी केन्द्रका प्रदेश सांसद रहबर अंसारी र माला कर्णले विद्रोह गरेका हुन् ।
विश्वासको मत नदिने उनीहरूकै उद्घोषको कारण मुख्यमन्त्री सोनलले सदनमै राजीनामा दिन बाध्य भए । माओवादी केन्द्रले सोनललाई समर्थन गर्ने तयारी गरे पनि दलभित्रैको आन्तरिक असन्तुष्टिको परिणाम सदनमै सतहमा आइपुगेको छ ।
सांसद अंसारीले सदनमा आफ्नो मन्तव्य राख्दै र आफैलाई मोसो दल्दै मधेश सरकार काठमाडौंले बनाएको भन्दै आक्रोश पोखेका थिए ।
‘यो हामीले बनाएको सरकार होइन, काठमाडौंले बनाएको सरकार हो। आठ वर्षमा प्रदेशको शासन कुशासन र भ्रष्टाचारले भरिएको छ, त्यसैले म कुनै पनि सरकारलाई विश्वासको मत दिन्न ‘ माइक काटिएपछि उनले मोसोले अनुहार कालो पार्दै ‘मधेशका जनताले हाम्रो अनुहार कालो देखिरहेका छन्’ भन्दै प्रतीकात्मक विरोध गरे ।
अंसारीलाई समर्थन गर्दै माओवादीकै अर्का सांसद माला कर्णले पनि पार्टीको केन्द्रीय हस्तक्षेपविरुद्ध आक्रोश जनाइन् र विश्वासको मत नदिने उद्घोष गरिन् ।
“हाम्रो दल संघीयताको कुरा गर्छ, तर अभ्यासमा केन्द्रीकृत शासन चलाउँछ। त्यसैले म कुनै पनि सरकारलाई विश्वासको मत दिन्न ।” उनले भनिन् ।
दुवैजना सांसदको विद्रोहको मूल कारण माओवादी संसदीय दलको नेतामा पुनः भरतप्रसाद साहको नियुक्ति रहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असोज १७ गते साहलाई पुनः दलको नेता बनाएपछि दलभित्र असन्तुष्टि चुलिएको थियो ।

अधिकांश सांसद साहको कार्यशैलीप्रति असन्तुष्ट छन् । तर प्रचण्ड र मधेश इञ्चार्ज मातृकाप्रसाद यादवको जोडबलका कारण साह पुनः नेतामा फर्किएका छन् । यसअघि जेठ महिनाको दोस्रो साता साहमाथि नैतिक संकट उठेपछि प्रचण्डको निर्देशनमा उनले राजिनामा दिएका थिए । त्यसपछि प्रचण्डले दलका उपनेता युवराज भट्टराईलाई दलको नेता नियुक्त गरेका थिए ।

तर पाँच महिनापछि पुनः प्रचण्डले साहलाई दलको नेतामा पुनःस्थापित गरेपछि दलभित्र व्याप्त असन्तुष्टि चुलिएको हो ।
विश्वासको मत लिने पूर्वसन्ध्यामा दलभित्र छलफलमै एकमत बन्न नसक्दा अन्ततः शनिबार दिउँसो ह्वाट्सएपमार्फत ह्वीप जारी गरिएको थियो । तर अंसारी र कर्णले अस्वीकार गरेका थिए । दलभित्रको अन्तर्कलह र केन्द्रको हस्तक्षेपकै कारण दुई सांसदले ह्वीप तोडेपछि विश्वासको मत सुनिश्चित नभएपछि मुख्यमन्त्री सोनलले सदनमै राजीनामा दिन बाध्य भए ।