Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २१ गते ।

मधेस प्रदेशमा ४ लाख ८९ हजार ७ सय २२ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाइँदै छ । ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई भिटामिन ए तथा १ वर्ष माथिकालाई जुकाको औषधि खुवाउने अभियान अन्तरगत मधेस प्रदेशका बालबालिकालाई हिजो र आज गरी दुई दिन औषधि खुवाइँदै छ । 

नेपाल सरकारको विशेष अभियान अन्तर्गत देशभर बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने अभियान सञ्चालन भएकोमा त्यसै अभियान अन्तरगत मधेस प्रदेशमा समेत औषधि खुवाइँदै छ । 

मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयका पोषण अधिकृत विनोद यादवले खानामा सबै प्रकारको तत्त्व प्राप्त नहुने भएकाले थप भिटामिन प्रदान गर्नका लागि भिटामिन ए कार्यक्रम मधेस प्रदेशका १ सय ३६ वटै स्थानीय तहमा एकसाथ सुरु गरिएको बताए । 

प्रदेशमा भिटामिन ए खुवाउनका लागि सबै पालिका तथा सो पालिकामा रहेको महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरिएको छ । दुई दिनसम्म विशेष अभियानको रूपमा चल्ने यस कार्यक्रम कुनै कारणले छुटेकाहरूलाई ७ दिनसम्म खोजेर भिटामिन खुवाउने कार्यक्रम रहेको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

मधेस प्रदेशमा भिटामिन ए खाने उमेर समूहको सबैभन्दा बढी बालबालिकाहरू धनुषामा रहेका छन् । धनुषामा ७२ हजार ४ सय १९ जना बालबालिकालाई औषधि खुवाइँदै छ । सप्तरीमा ५२ हजार ८ सय ३२, सर्लाहीमा ६६ हजार ७ सय ७९, बारामा ५९ हजार ६ सय ९७, सिरहामा ५९ हजार ३ सय ३९, महोत्तरीमा ५७ हजार २ सय २२, रौतहटमा ७० हजार ८ सय ५ जना र पर्सामा ५० हजार ६ सय २९ जनालाई औषधि खुवाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *