सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २१ गते l
इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका-१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनबाट अवैध रूपमा ल्याइएका मोबाइल फोनहरू बरामद गरेको छ।
प्रहरीका अनुसार, प्रहरी टोली देखेपछि मोबाइल बोकेका व्यक्तिहरूले सडकमा झोला फ्याँकेर भागेका थिए। त्यसपछि प्रहरीले सो झोलाबाट विभिन्न ब्रान्डका मोबाइल फोनहरू बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी इन्द्र रानाका अनुसार बरामद गरिएका मोबाइलहरूको अनुमानित मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको छ।
रानाले बताउनुभयो, बरामद गरिएका मोबाइलसँग सम्बन्धित कुनै पनि कागजात प्राप्त नभएको र अहिलेसम्म कसैले सम्पर्क नगरेकाले ती मोबाइल भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ।
यसैगरी, प्रहरीले भन्सार छली गरी तस्करीमार्फत नेपाल ल्याइएका विभिन्न कपडाका सामान पनि बरामद गरेको छ। तीमध्ये ९४ थान जिन्स पाइन्ट, ८४ थान कुर्ता सेट, १६ थान सल, १०८ जोर मोजा, १६ थान कुर्ता, गुल मञ्जन ४८ पिस र २ बोरा केराउ रहेका छन्।
यी सबै बरामद सामानहरूको अनुमानित मूल्य करिब ९० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। हाल भन्सार छलेर सामान ल्याउने व्यक्तिहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।