सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २० गते ।
जनकपुरधाम–ढल्केवर ६ लेन सडक खण्डमा विभिन्न तीन स्थानमा आकाशे पुल निर्माण सुरु भएको छ ।
सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरधामले करिब साढे १० करोडको लगानीमा आकाशे पुल निर्माण गर्न लागेको हो ।
निर्माणको ठेक्का लागेपछि अहिले निर्माण प्रक्रिया सुरु भएको हो ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महिला विकास चोक तथा सखुवा चोकमा र लक्ष्मीनिया गाउँपालिकाको बजार चोकमा गरी तीन वटा आकाशे पुलको निर्माण हुन लागेको छ ।
क्षिरेश्वरनाथको महिला विकास चोकमा ३ करोड ३५ लाख, सखुवा चोकमा ३ करोड ५७ लाख तथा लक्ष्मीनियाका आकाशे पुलको निर्माण ३ करोड ४२ लाख भ्याटसहितको लागतमा दुई निर्माण कम्पनीले ठेक्का पाएको छ ।
सडक डिभिजन कार्यालय मुजेलियाका प्रमुख डिभिजनल ईन्जिनियर दरोगा प्रसादले यसै आर्थिक वर्षको असार भित्रमा निर्माण सम्पन्न हुने जानकारी दिए ।
निर्माण हुन लागेको आकाशे पुलको उचाइ ५.६ मिटर तथा लम्बाई २९.४ मिटर र पुलको चौडाइ ३ मिटर रहेको कार्यालयका साईट ईन्जिनियर उज्जवल झाले जानकारी दिए ।