सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २० गते ।
जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेकोमा सबै मुस्लिमलाई समावेश नगरेको भन्दै मुस्लिम जेनजी समुहले आपत्ति जनाएको छ ।
सुशिला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएका दुई जना युवा मध्ये एकजनाको नाम मात्र सहिद सूचीमा समावेश गरिएको भन्दै सरकारको असमान र विभेदपूर्ण व्यवहारप्रति मुस्लिम जेनजीले आपत्ति जनाएको छ।
बिहीबार संगठनले एक विज्ञप्ति जारी गर्दै संविधानले सुनिश्चित गरेको समानता र न्यायको मर्ममाथि प्रश्न उठाएको हो।
नेपालको संविधान २०७२ ले सबै नागरिकलाई समानता, न्याय र अधिकारको ग्यारेन्टी गरेको स्पष्ट व्यवस्था गरेको तर पछिल्ला घटनाक्रमहरूले सो मर्ममाथि गम्भीर प्रश्न उठाएको संगठनको दावी छ ।
जेनजी आन्दोलनका क्रममा देशका विभिन्न भागमा युवाहरूले समान अधिकार, न्याय र प्रतिनिधित्वको माग गर्दै आन्दोलन गर्ने क्रममा दुई मुस्लिम युवा सहिद बने पनि सरकारले प्रकाशित सहिद सूचीमा एक जनाको मात्र नाम समावेश गरेको संगठनको आरोप छ।
भदौ २८ गते अनलाइनखबर डटकममा प्रकाशित “जेनजी प्रदर्शनको क्रममा मृत्यु हुने ३५ युवा ९नामावलीसहित०” शीर्षकको समाचारमा २४ वर्षीय काशी आलम ठाकुरको सिभिल अस्पतालमा मृत्यु भएको र अन्नपूर्णपोस्ट डटकममा सोही दिन प्रकाशित “जेनजी आन्दोलनमा ज्यान गुमाएका आलमको अन्त्येष्टि” शीर्षकको समाचारमा वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलम को मृत्यु भएको र उनको शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटिएको जनाइएको भएतापनि हाल सरकारले जारी गरेको सहिद सूचीमा केवल असहाब आलमको मात्र नाम समावेश गरिएको र काशी आलमको नाम छुटाइएको भन्दै संगठनले आपत्ति जनाएको हो।
आन्दोलनमा दुवै जनाको बलिदान समान रूपमा राष्ट्रका लागि रहेको हुँदा, कसैको नाम छुटाउनु अन्यायपूर्ण र भेदभावपूर्ण कार्य भएको संगठनले जनाएको हो ।
मुस्लिम जेनजीले आन्दोलनमा सहिद भएका दुवै मुस्लिम युवालाई समान रूपमा सहिद घोषणा गर्नुपर्ने, सहिद सूचीमा सबै समुदायका योगदान र बलिदानलाई समान सम्मानसहित समावेश गर्न सरकार तुरुन्त अघि सर्नुपर्ने र आगामी दिनमा कुनै पनि राष्ट्रिय वा युवा आन्दोलनमा समुदायबीच भेदभाव गर्ने अभ्यास अन्त्य गर्नुपर्ने माग गरेको छ ।