सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २० गते ।
सप्तरीको अग्नीसाईर कृष्णसवरन गाउँपालिका पछिल्लो समय निरन्तर विवादमा छ । अध्यक्ष दिनानाथ चौधरीको कार्यालयमा वडाध्यक्षले मालिस गरेको भिडियो भाइरलपछि अहिले उनको राजीनामा विवादले पालिका तातेको छ ।
असोज ५ गते मितिको पालिका अध्यक्ष चौधरी राजिनामा पत्र बुझाएको भन्दै कार्तिक १८ गते कार्यपालिका बैठकले स्वीकृत गरेको छ । उपाध्यक्ष कल्पना चौधरी र वडा नं. १ का वडाध्यक्ष सबजुल खलिफाले पलिका अध्यक्षले राजिनामा दिएको पुष्टि गरे । तर पालिका अध्यक्ष चौधरीले विज्ञप्ति जारी गर्दै राजीनामा नदिएको दावी गर्दै पूर्ण रूपमा किर्ते र नियोजित भ्रम फैलाउने काम भएको आरोप लगाएका छन् ।

उपाध्यक्ष चौधरी भने पत्रमा हस्ताक्षर नै प्रमाण हुने बताउँछिन् । अर्कोतर्फ वडाध्यक्ष अशोककुमार आचार्यले अध्यक्षको व्यवहारकै कारण यस्तो स्थिति आएको बताउँदै उनले परिषदकै दिन मादक पदार्थ सेवनपछि राजीनामा दिएको तर पछि अडान फेरेको दाबी गरे ।
पालिका विवादमा पर्नुको कारण कार्यपालिका भित्रको स्वार्थ र गुटबन्दी हो । जसको कारण चालु आर्थिक वर्ष २०८२।०८३ को गाउँपरिषद अहिलेसम्म सम्पन्न हुन सकेको छैन । कर्मचारी तलब–भत्ताबाट बञ्चित छन् । १४ सदस्यीय कार्यपालिकामा कांग्रेसका ८, माओवादी र एमालेका तीन–तीन सदस्य रहेका छन् । पालिका अधयक्ष चौधरी कार्यपालिकामा लगातार अल्पमतमा पर्ने गरेका छन् । गत भदौदेखि प्रशासकीय अधिकृत नहुँदा पालिकाको काम ठप्पजस्तै भएको छ ।
