Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २० गते ।

भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरणको मतदान अहिले जारी छ ।

पहिलो चरणमा राज्यका १८ जिल्लाका १२१ विधानसभा सीटमा मतदान भइरहेको छ।

१२१ सीटका लागि भैरहेको पहिलो चरणको निर्वाचनमा १ हजार ३१४ उम्मेदवार चुनावी मैदानमा छन । भारतीय संचारमाध्यमका अनुसार पहिलो चरणमा मतदान गर्ने मतदाताको संख्या करिब ३ करोड ७५ लाख रहेका छन । यस निर्वाचनका लागि नयाँ मतदाता मात्रै १० लाख ७२ हजार रहेका छन । निर्वाचन सुरक्षित तथा पारदर्शी बनाउन प्रत्येक मतदान स्थानमा अधिकतम १,२०० मतदाता मात्र राखिएको छ ।

यो चुनावमा राष्टीय जनता दलका नेता तेजस्वी यादवको नेतृत्वमा रहेको महागठबन्धन र एनडिएबीच मुख्य प्रतिष्पर्धा छ । यता प्रशान्त किशोर नेतृत्वको जन सुराज पार्टीले समेत पहिलो चरणको मतदानमा राम्रो प्रभाव पार्ने अनुमान गरिएको छ । यस चरणमा प्रमुख नेताहरू तथा राजनीतिक अगुवा अनुहारहरू मतदानमा छन् — जसले चुनावलाई निकै रोचक बनाएको छ ।

महागठबन्धनका मुख्यमन्त्री उम्मेदवार तथा बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव राघोपुर सिटबाट चुनाव लडिरहेका छन्।
आरजेडीबाट अलग्गिएपछि आफ्नै पार्टी जनशक्ति जनता दल बनाएका लालू प्रसाद यादवका जेठा छोरा तेज प्रताप महुआ सिटबाट चुनावमा छन्। नितिश सरकारका उपमुख्यमन्त्री सम्राट चौधरी बीजेपीको तर्फबाट तारापुरबाट पहिलो पटक चुनाव लड्दै छन्। अर्का उपमुख्यमन्त्री विजय कुमार सिन्हा लखीसराय सिटबाट लगातार चौथो पटक चुनावी मैदानमा छन्।

भोजपुरी गायक तथा अभिनेता शत्रुघ्न यादव उर्फ खेसारी लाल यादव आरजेडीको टिकटमा छपरा सिटबाट उम्मेदवार बनेका छन्। चुनावअघि बीजेपी प्रवेश गरेकी गायिका मैथिली ठाकुर दरभंगाको अलीनगर सिटबाट मैदानमा छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *