Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १९ गते ।

धनुषा र सिराहाको सीमामा बग्ने कमला नदीमा आज कात्तिक शुक्ल पूर्णिमाको अवसरमा परम्परागत भूत मेला लागेको छ । बिहानैदेखि नदी किनारमा स्नान गर्न आएका श्रद्धालुहरूको ठूलो भीड देखिएको छ । यसलाई कार्तिक पूर्णिमा मेला पनि भन्ने गरिन्छ ।

हिजो साँझदेखि नै विभिन्न गाउँबाट धामी–झाँक्री र स्थानीय श्रद्धालुहरू सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वा लगायतका घाटमा पुगेका छन्। कमलाको उत्तरवाहिनीमा धामी–झाँक्रीहरूले आजको दिन भूत, बैताल र कुलदेवताको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।

जनविश्वासअनुसार, कात्तिक पूर्णिमाको दिन कमला नदीमा स्नान गरे भूत–प्रेत, बाधा–बिपत्ति र पापकर्मबाट मुक्ति पाइन्छ । नयाँ धामी–झाँक्रीले यसै दिन नदीमा स्नान गर्दा तान्त्रिक सिद्धि प्राप्त हुने विश्वास पनि छ ।

स्नानपछि भक्तजनहरूले कमला नदीको शुद्ध पानी घरमा लगेपछि त्यसलाई जमिनमा छर्केर पूजा गर्ने चलन छ ।
यस अवसरमा भारतका विभिन्न स्थानबाट समेत ट्याक्टर, बस र जीपमार्फत हजारौं श्रद्धालुहरू सहभागी हुन आएका छन् ।

हाल लाखौंको संख्यामा भक्तजनहरूले कमला नदीमा स्नान गरिरहेका छन्, जसले सम्पूर्ण क्षेत्रलाई धार्मिक उत्सवमय बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *