सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १८ गते
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजिनामा दिएका छन् । गत असोज ५ गते उनले पालिका उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए ।
पदमा रहेर काम गर्न असमर्थ रहेको भन्दै उनले राजनीनामा दिएका हुन् ।
‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु’ उनको राजिनामा पत्रमा उल्लेख छ ।
‘म आफ्नो पदमा आवश्यक दक्षता, समय र उर्जा दिन नसकेको महसुस गरेकोले, स्वच्छाले आज कै मिति देखि लागू हुने गरी अध्यक्ष पदबाट राजिनामा दिएको जानकारी गराउँदछु’ उनले पत्रमा लेखेका छन् ‘गाउँपालिकाको अध्यक्षको हैसियतले पाएको अनुभवलाई म जीवनको महत्वपूर्ण उपलब्धि ठान्दछु । भविष्यमा पनि समाज र गाउँको सेवामा आफूलाई निरन्तर समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । त्यसैले मेरो यो राजिनामा स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाई दिनु हुन अनुरोध गर्दछु’
उनको राजीनामा आज स्वीकृत भएको पालिका उपाध्यक्ष कल्पना चौधरीले बताइन् । आज बसेको कार्यपालिका बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
पालिका अध्यक्ष चौधरी एमालेबाट निर्वाचित भएका थिए। उपाध्यक्ष भने काँग्रेसबाट निर्वाचित छन् ।
पालिकामा मिश्रित परिणामको कारण बेलाबेला विवादित बन्ने गरेको छ । गत असोज ५ गते मात्रै गाउँसभा भएको थियो ।
त्यस दिन एक वडा अध्यक्षले उनलाई पालिका उपाध्यक्षको कार्यकक्षमा रहेको एक सोफामा खुट्टामा मालिश गरेको भिडियोसमेत भाइरल भएको थियो।