सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १८गते ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते आगजनी भएको सम्बन्धमा अनुसन्धान गर्न सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको छ। आगजनी सम्बन्धी जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरू गरिसकेको एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।
कात्तिक १३ गते सर्वोच्च अदालतले लेटरप्याडमै घटना सम्बन्धमा आगजनी गर्नेहरूको पहिचान गरी कारबाही गर्न भनेर जाहेरी दिएको हो। यद्यपी जाहेरीमा कसैको नाम किटान गरिएको छैन। सर्वोच्चले प्रहरीमा जाहेरी पठाएपछि अन्य मातहत अदालतहरूमा पनि जाहेरी पठाउन पत्राचार गरिएको छ। जिल्ला अदालत काठमाडौंले पनि जाहेरी बुझाएको छ ।
स्रेस्तेदार तीर्थराज भट्टराईले कात्तिक १४ गते नै जाहेरी बुझाएको जानकारी दिए। भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी जाहेरी बुझाएको उनले जनाएका हुन् ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते काठमाडौंको सर्वोच्च अदालत र २२ वटा अदालतमा आगजनी तथा तोडफोड भएका थिए।सर्वोच्चले अन्य अदालतहरूलाई पनि प्रहरी कार्यालयमा जाहेरी दिन पत्राचार गरेको छ।
भदौ २४ गतेको घटनामा सात वटा उच्च अदालतमा आगजनी तथा तोडफोड भएकोमा ती अदालतले पनि विभिन्न विवरण संकलन गरी जाहेरी दिने तयारी गरिरहेको छ । काठमाडौंसहित बाँके, रूपन्देही, मोरङ, सिरहा, सप्तरी, कैलाली, कास्की, मकवानपुर, दाङ, तनहुँ, चितवन, कपिलवस्तु र सिन्धुलीमा अदालतमा क्षति पुगेको छ।