सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १८गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ मा रहेको सदा टोलमा हैजा संक्रमण पुष्टि भएको छ ।
झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु भएकोसदा टोलमा जनप्रतिनिधिसहित ८० जना बिरामी रहेकामा सिकिस्त ५ जनालाई अस्पताल भर्ना गरिएको छ ।
सदा टोलमा शौचालय छैन भने स्वास्थ्यकर्मीले सबैको दिसा परीक्षणसमेत गरेका छैनन् । सदा टोलका ३३ वर्षीय बुचन सदाको परिवारमा झाडापखालाबाट आठ दिनको अन्तरमा परिवारका तीन सदस्यको मृत्यु भएको छ ।
शौचालय नभएकाले टोलका बासिन्दा छेउमा रहेको पोखरीको डिल र खेतबारीमा शौच गर्ने गरेका छन् ।
यस्तै, खानेपानीका लागि जडान गरिएका तीनमध्ये एउटा चापाकल अझै वर्षा भएपछि जमेको पानीमा डुबेकै अवस्थामा रहेको छ । बाँकी दुई चापाकल पनि हिलाम्य रहेको छ । सोही दुई चापाकलबाट उक्त टोलबासी पानी पिउनेदेखि नुहाउने, लुगा धुने र भाँडा माझ्ने काम गर्दै आएका छन् ।
टोलका ८० जना झाडापखालाले प्रभावित हुँदा पनि अहिलेसम्म ९ जनाको मात्रै आरडीटी भएको छ । परीक्षण गरिएकामध्ये ४ जनामा हैजा संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब दीपेन्द्रप्रसाद यादवले जनाएका हुन् ।
उनका अनुसार परीक्षणका लागि २३ जनालाई बट्टा दिँदा पनि ११ जनाले मात्रै नमुना दिएका जन जसमध्ये अहिले दुई जनाको टेस्ट गर्न बाँकी नै रहेको छ ।
यादवका अनुसार वडा सदस्य ६५ वर्षीया अरहुलियादेवी सदा र आरडीटीमा पोजेटिभ देखिएका सुरज सदाकी ३ वर्षीय छोरा मनीष, शिवकुमार सदाका ७ वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया पत्नी रेखादेवी सदा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचाररत्त छिन् ।
झाडापखालाले कार्तिक ६ गते बुचनका एक वर्षको छोरा सञ्जीव सदा, कार्तिक ११ गते ६६ वर्षीय उनका बुबा लक्ष्मण सदा र कार्तिक १४ गते उनको ४ वर्षीया छोरी राघिनी सदाको मृत्यु भएको थियो ।