सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १७ गते ।
सप्तरीमा समेत हैजा संक्रमण फैलिएको आशंका गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा झाडापखालाले तीन जनाको मृत्यु भएपछि हैजाको संक्रमण फैलिएको आशंका गरिएको छ ।
आइतबार साँझसम्म झाडापखालाका ९ जना बिरामीको दिसाको नमुना संकलन गरी आरडीटीबाट हैजा परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको हो ।
गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार आरडीटीबाट ३ जना पोजिटिभ देखिएपछि हैजा यकिन गर्नका लागि दिसाको नमुना प्रादेशिक ल्याब जनकपुर पठाइएको छ ।
उनका अनुसार स्थानीय सुरज सदाकी ३ वर्षीय छोरा मनीष, शिवकुमार सदाका ७ वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया पत्नी रेखादेवी सदाको आरडीटी पोजेटिभ देखिएको हो ।
तत्काल तीनै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ भने विपद् व्यवस्थापन समितिबाट निर्णय गरेरै स्वास्थ्य चौकी कोचाबखारीमा २ जना र प्रभावित टोलमा २ जना गरी ४ जना स्वास्थ्यकर्मीलाई २४ सै घण्टा खटाउने निर्णय गरेका अध्यक्ष चौधरीले बताए ।
हैजाको आशंकापछि टोलमा साबुन, नेल कटर, सेनिटाइजर लगायतका समान वितरण गरिएको छ भने ती वडाका विद्यालय पनि अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।
अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाश साहले झाडापखालाले ग्रस्त रहेका बिरामीको उपचार सुरु रहेको बताए । अहिले तीनै जनाको अवस्था सामान्य रहेकाले आत्तिनु नपर्ने उनले बताएका छन ।
दुई साताअघि सुरु भएको झाडापखालाका कारण कार्तिक ६ गते स्थानीय बुचन सदाका १ वर्षीय छोरा संजीव, ११ गते उनका बुचनका बुवा ६६ वर्षीय लक्ष्मण र १४ गते बुचनकी ४ वर्षीया छोरी राघिनीको मृत्यु भएको थियो ।