सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १७ गते ।
महोत्तरीमा नेकपा एमालेको पार्टी सदस्यता (संगठित सदस्य) ३३ हजार २८७ जना पुगेका छन्। एमालेले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र केन्द्रीय कार्यालयले अद्यावधिक गरेको विवरण अनुसार महोत्तरीमा पार्टी सदस्य ३३ हजार नाघेको हो।
पार्टीको सदस्य ३३ हजार नाघेसँगै २०७९ मा भएको चुनावमा एमालेले महोत्तरीमा प्राप्त गरेको समानुपातिक मतभन्दा पनि बढी पार्टी सदस्य पुगेको देखिएको छ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेले महोत्तरीमा समानुपातिकतर्फ तेस्रो हुँदै ३२ हजार ३४७ मत ल्याएको थियो। त्यस्तै प्रदेश सभा निर्वाचनतर्फ चौथो भएको थियो। प्रदेश सभातर्फ एमालेले २८ हजार ८३२ मत पाएको थियो ।
मधेसमा गुटगत प्रतिस्पर्धाका कारण एमालेको पार्टी सदस्यता ह्वात्तै बढेको एमालेका नेताहरूले बताएका छन्। यसपटक मधेस प्रदेशमा एमालेको पार्टी सदस्यता १ लाख ५६ हजार ४१ जना पुगेका छन्। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेले मधेस प्रदेशमा ३ लाख ७१ हजार ७०९ मत प्राप्त गरेको थियो। प्रदेश सभातर्फ ३ लाख ५१ हजार ७६८ मत ल्याएको थियो।
मधेस प्रदेशमा एमालका इन्चार्ज लिलानाथ श्रेष्ठ, केन्द्रीय सचिव रघुवीर महासेठ, केन्द्रीय सदस्य सरोज यादव लगायतबीच प्रतिस्पर्धा रहेका कारण आफूअनुकूलका मानिस प्रतिनिधि ल्याउन पनि उनीहरूबीच पार्टी सदस्यतामा प्रतिस्पर्धा देखिएको नेताहरूले बताएका छन्। जसका कारण कतिपय जिल्लामा २०७९ को निर्वाचनमा पार्टीले प्राप्त गरेको भोटभन्दा बढी पार्टी सदस्यता पुर्याइएको छ। यसको असर आगामी मंसिर २७, २८ र २९ गते हुने ११ औं महाधिवेशनमा देखिने छ।
मधेस प्रदेशमा एमालेको सबैभन्दा बढी सदस्य देखिएको छ।जिल्लागतरूपमा धनुषामा सबैभन्दा बढी पार्टी सदस्य पुगेका छन्। धनुषामा ४८ हजार ६६६ जना पार्टी सदस्य छन् भने महोत्तरीमा ३३ हजार २८७, पर्सामा १८ हजार १४९, सिराहामा १४ हजार ३८१ जना पुगेका छन्। मधेस प्रदेशमा सबैभन्दा कम सर्लाहीमा ९ हजार २१९ जना पार्टी सदस्य रहेको विवरण केन्द्रीय कार्यालयले अद्यावधिक गरेको छ।