सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १६ गते ।
मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू श्रम शोषण र दमनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । आठबुँदे मागसहित उनीहरूले पूर्वघोषित कार्यक्रमअनुसार जनकपुरधाममा शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् ।
स्वास्थ्यकर्मीहरूले आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित कार्य वातावरणमा काम गर्न बाध्य भएको गुनासो गरेका छन्। नेपाल सरकारको कानुनअनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाएर लोक सेवा आयोगमार्फत स्थायी नियुक्ति गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा तथा सुरक्षा सुनिश्चित गर्नुपर्ने, साथै हप्तामा अधिकतम ४२ घण्टाको कार्य समय तोक्नुपर्ने उनीहरूको प्रमुख माग हो।
स्वास्थ्यकर्मी नवेश अधिकारीका अनुसार मन्त्रालयबाट पटक–पटक सूचना जारी हुँदासमेत निजी अस्पतालहरूले कार्यान्वयन नगरेका कारण उनीहरूको मनोबल कमजोर बनेको र बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको हो ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई बारम्बार ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस कदम नउठाइएकाले आन्दोलन गर्नुपरेको हो। स्वास्थ्यकर्मीहरूले आन्दोलनका कारण बिरामी सेवामा समस्या आए सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने चेतावनी दिएका छन्।