सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १६ गते ।
महोत्तरी प्रहरीले बर्दिबास नगरपालिका क्षेत्रमा दुई फरक ठाँउमा छापा मार्दै १९ जना लाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार दुबै ठाँउबाट जम्मा तीन लाख ६८ हजार रुपैयाँ नगदसहित विभिन्न जुवा खेल्ने सामग्रीहरू बरामद गरिएको छ।
महोत्तरी प्रहरीले विशेष जुवातास नियन्त्रण गर्नलाइ अभियानसञ्चालन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, गएराति करिब १२:३० बजे बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर मन्दिर नजिकको घरमा छापा मार्दा १२ जना जुवाडेहरू रंगेहात पक्राउ परेका थिए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी तथा सूचना अधिकारी शैलेन्द्र भट्टका अनुसार, उक्त स्थानबाट एक लाख ३२ हजार रुपैयाँ नगद २६ थान कौडा तीन थान काठका बाकस र ११ थान मोबाइल फोन बरामद गरिएको छ।
यसअघि पनि प्रहरीले बर्दिबास नगरपालिका–७ किसाननगरमा छापा मारेको थियो।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकाश बमको नेतृत्वमा गएको टोलीले स्थानीय कर्णबहादुर तामाङको सटरमा लुकिछिपी जुवातास खेलिरहेको अवस्थामा सात जनालाई नियन्त्रणमा लिएको थियो।
त्यहाँबाट प्रहरीले दुई लाख ३६ हजार ५७५ रुपैयाँ नगद५२ थान तासका पत्ता सिलबन्दी बन्डल एक थान र खुला तासका कार्ड ५२ थान बरामद गरेको जनाएको छ।
पक्राउ परेका सबै १९ जनामाथि प्रारम्भिक सोधपुछपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा थप अनुसन्धानका लागि पठाइएको प्रहरी अधिकारी भट्टले जानकारी दिएको छ ।